
चौतारा, सिन्धुपाल्चोक— जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् जुगल गाउँपालिका– १ लामिडाँडाका ग्याल्वो शेर्पा ।
उमेरले सात दशक लागेका शेर्पा सानैदेखि डोको र डाला बनाउँथे । वृद्धा अवस्थामा समेत शेर्पा आफ्नो पेसालाई छोडेका छैनन् । युवा उमेर जस्तै सक्रिय छन् आफ्नो कर्ममा । जब गाउँमा कसैको बिहे हुन्छ । कोसेली लैजान प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले शेर्पालाई नै दिन्छन् । ‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु’, उनले भने ।
शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उनले बताए । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन् । घरमै आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्यस्तता बढेको हो । मान्द्रा बिक्री गरेर शेर्पाको घर खर्च मात्र टर्दैन, छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको समेत जोहो हुन्छ । आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उनी बताउँछन् ।
यो बेला भकारी बनाउन मान्द्राको माग अत्यधिक हुने गरेको छ । एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्ने शेर्पा बताउँछन् । मान्द्रा २ हजार २ सयमा बिक्री हुने गरेको उनी बताउँछन् । मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जङ्गलबाट निःशुल्क उपलब्ध हुन्छ । अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको स्थानीय कर्मा स्याङ्बो बताउँछन् । उनी पनि मान्द्रा बुनेर बेच्छन् ।
‘उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु’, उनले भने, ‘छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ ।’ युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ । अन्न उब्जाउन जमिन छैन । कमाउन अरु इलम छैन । अधिकांश स्थानीयले आलु खेती गर्दै आएका छन् तर आलु खेतीबाट उनीहरू आत्मनिर्भर बन्न सकेका छैनन् ।