News Griha :: न्यूजगृह
करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइने

काठमाडौं—  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तस्करी गरि हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । 

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन मंगलबार साँझ सकिएकाले बुधबार बुझाउन लागिएको ब्युरो प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् । 

आरोपितविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन ब्युरोले राय दिएको छ ।  सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी बुधबार प्रतिवेदन बुझाउन लागिएको हो ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट 'ब्रेक शु'मा हालेर ल्याइएको सुन सिनामङ्गलस्थित भन्सार कार्यालय बाहिरबाट बरामद गरेको थियो । 

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको बाँकी अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिइएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०६:१८
Weather Update