धरानका उपमेयर बेघाको घरमा तोडफोड, प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो

काठमाडौं— धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ ।
धरान उपमहानगरपालिका १५ स्थित खिरिया बस्तीमा पुगेर एउटा समूहले बेघाको घरमा तोडफोड गरेको हो । तोडफोडबाट झ्यालको सिसा फुटेको छ । उपप्रमुख बेघाका भाइ विष्णुलाई कुटपिट गर्न पुगेको समूहले घर तोडफोड गरेको हो ।
घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन्।
सुनसरीका प्रहरीले भने घर तोडफोड गर्नेहरुको खोजी थालिएको जनाएको छ। बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन थाल्ने सुनसरीका प्रहरी प्रमुख विपिन गौतमले बताएका छन्।
धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन्। धरानका प्रमुख हर्क साम्पाङबाट नियमित सार्वजनिक भइरहेका आपत्तिजनक अभिव्यक्तिले पनि तनाव बढाएको भन्दै उनको आलोचना हुने गरेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० २०:२१