News Griha :: न्यूजगृह
आपराधिक लाभ लिएको आरोपमा एक जना पक्राउ
३३ वर्षीय सुरजकुमार श्रेष्ठ ।  तस्बिर : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं—  आपराधिक लाभ  लिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३२ बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठ छन् ।  उनलाई काँडाघारीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनीसहित केही व्यक्तिहरूले भदौ २० गते काँडाघारीस्थित घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई बन्धक बनाएका थिए । उनले पीडित बोले वा कराएमा ज्यान समेत मार्ने धम्की दिएर २० लाखको चेक र साढे ८ लाख कागज गराएको एसपी रेग्मीले बताए। 

यसरी आपराधिक लाभ लिएको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

आपराधिक लाभ लिन नहुने कसुरमा म्याद थपेर अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं‌‌मा पठाएको कार्यालयले जनाएको छ। यसमा संलग्न अन्य व्यक्तिहरू फरार छन्। उनीहरूको पनि खोजी भइरहेको एसपी रेग्मीले बताए। 

पक्राउ परेका श्रेष्ठ यसअघि जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन्। उनी गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:०१
Weather Update