साढे १४ हजार घुस रकमसहित प्रधानाध्यापक पक्राउ

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाबाट एक जना प्रधानाध्यापकलाई घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगले राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको प्रवक्ता दाहालले बताए । अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १९:०२