News Griha :: न्यूजगृह
बेपत्ता मेजर विमल पण्डित १६ दिनपछि मृत भेटिए

काठमाडौं— गत भदौ ११ गतेदेखि बेपत्ता डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए । सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो।

त्यसलगत्तै प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा एउटा टोली खटिएको थियो । उद्धार सामाग्रीसहित नेपाली सेनाका मेजर रवि शाहको टोली पनि चिण्ढेबगरमा पुगेको थियो ।

डीएसपी बुढाथोकीको टोली पुगेको केही समयपछि रामवाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली पनि पुगेर खोचमा रहेको शव बाहिर निकालेर पहिचान प्रयास गरेको थियो।

घडी र औँठीबाट शव मेजरको पुष्टि भएको घटनास्थलमा पुगेका डीएसपी शिव बुढाथोकीले बताए ।

शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीयसमेतको उपस्थितिमा मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा ल्याइँदैछ। शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए ।

काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेदेखि बेपत्ता भएका थिए।

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:३२
Weather Update