त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरीको टोलीले मलद्वारमा लुकाएर ९६० ग्राम सुन ल्याएको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।
सोमबार दुबईबाट आएको हिमालयन एअरको जहाजमा रहेका यात्रुबाट उक्त सुन बरामद भएको परिसरले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
सुन ल्याउने काभ्रे घर भई हाल पनौतीमा बस्ने २८ वर्षीय बाबुलाल दोङलाई सोमबार पक्राउ गरिएको थियो । काभ्रेकै ३३ वर्षीय जगत लामा र ३६ वर्षीय मिङमा दोर्जे स्यान्तानलाई भने मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुन विमानस्थलको पार्किङबाट बरामद भएको हो । परिसरले यसमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको विज्ञप्तिमा जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १६:५५