सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु

झापा— कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगलबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको जीपले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी हस्पिटल पुर्याइएको थियो । उनलाई हस्पिटलमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
जीपका चालक पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०८:१०