१५ वर्षीया किशोरीमाथि पटकपटक सामूहिक बलात्कार, तीन युवक पक्राउ

कञ्चनपुर— सामूहिक बलात्कारको आरोपमा तीन युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका ३ का १९ वर्षीय अरविनमहता, १८ वर्षीय खेमसिंह साउद र एक जना १७ वर्षीय किशोर छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार १५ वर्षीया किशोरीलाई ललाइ फकाई पटकपटक बलात्कार गरेको आरोपमा उनीहरूलाई आइतबार पक्राउ गरिएको हो ।
उनीहरूलाई पीडित किशोरीको आमाको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार जाहेरीमा किशोरीमाथि दुई पटक सामूहिक बलात्कार भएको उल्लेख छ । दोधारा चाँदनी नगरपालिकाकी किशोरीलाई तीनै जनाले विभिन्न प्रलोभन दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
उजुरीपछि पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको डीएसपी डाँगीले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० २१:३३