
म्याग्दी— म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको ४ वर्षसम्म पनि काम सुरुआत भएको छैन ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन वि.सं.२०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो ।
मालिकाको ५ र धवलागिरिको ७ नम्बर वडाको सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।
वि.सं.२०७८ जेठ ८ गते सम्झौताको म्याद सकिएको थियो । दोस्रो पटक थपिएको सम्झौताको म्याद आगामी मंसीरसम्म छ । पुल निर्माण सुरुनै नभएको धवलागिरि–७ का वडा अध्यक्ष अशोक खत्रीले बताए । उनले भने,‘पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु हुन नसक्दा निराश भएका छौँ ।’
फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरिको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको फेदीका बासिन्दा रिमप्रकाश थापाले बताए ।