News Griha :: न्यूजगृह
मिटरब्याजपीडित फर्किए घर

काठमाडौं— मिटरब्याजको समस्या समाधानका लागि सरकारले आयोग गठनको निर्णयसँगै विगत नौ दिनदेखि काठमाडौंमारहेका मिटरब्याजपीडित घर फर्किएका छन् ।

झापा, मोरङ, सुनसरी, बारा, पर्सा, सप्तरी, धनुषालगायतका जिल्लाका मिटरब्याजपीडित ११ दिनको पैदलयात्राबाट काठमाडौं आएका थिए । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकार र पीडितबीच गत शनिबार पाँच बुँदे सहमति भएको थियो ।

मिटरब्याजविरुद्ध संघर्ष समितिका संयोजक मनोज पासवानले मिटरब्याजको समस्या सरकारले अत्यन्तै गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेपछि आफूहरू घर फर्किएको बताए ।

उनले सरकार समस्या समाधान गर्न गम्भीर रूपमा लागेकाले आफूहरूको समस्या समाधान हुनेमा पूर्णतः विश्वस्त रहेको बताउँदै भने, ‘सरकारले मिटरब्याजको समस्यालाई गम्भीर रूपमा लिँदै आयोग गठन गर्ने निर्णयप्रति हामी अत्यन्तै आभारी छौँ । आयोग र सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरी हामी आ–आफ्नो घर फर्किएका छौँ ।’

उनले आयोग गठन भएसँगै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने जिल्लास्तरीय छानबिन समितिलाई समेत आफूहरूले सक्दो सहयोग गरी समस्या समाधान गर्ने बताए ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०६:३३
Weather Update