News Griha :: न्यूजगृह
फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गर्ने ३ जना पक्राउ
तस्बिर : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं—  प्रहरीले फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले सुकेधाराबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका– १२ घर भई  सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ छन्। गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको उजुरीपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनले फ्रान्समा होटलमा काम लगाइदिने र महिनाको एक लाख रुपैयाँभन्दा धेरै तलब हुने भन्दै रानाभाटलाई प्रलोभनमा पारेर १४ लाख रुपैयाँ असुलेको अनुसन्धानबाट खुलेको छ।

यस्तै कैलाली लम्किचुहानगरपालिका–५  घर भई मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षको चित्रबहादुर मगरले टर्की पठाइ दिने भन्दै निशान खड्कासँग २ लाख ५० हजार लिएर फरार भएको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सर्बिया पठाइदिन्छु भन्दै तीन जनासँग १७ लाख ठगी गरेको धादिङको ज्वालामुखी गाउँपालिका घर भइ भक्तपुरको थिमी नगरपालिका- ३ बस्ने राजकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले बलराम थपामगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै पटक पटक गरी १७ लाख ठगी गरेको प्रहरीको भनाइ छ।  काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:१४
Weather Update