
काठमाडौं— ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना आइतबार नै धरौटी रकम बुझाएर रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी रिहा गर्न आइतबार आदेश दिएको थियो ।
काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् । अदालतले उनीसँग ७ लाख ५० हजार रुपैयाँ धरौटी मागेको थियो ।
श्रेष्ठ नापी कार्यलयका पूर्व कर्मचारी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई साउन ७ गते पक्राउ गरेको थियो । श्रेष्ठले अमिन हुँदा सरकारी जग्गा व्यक्तिको भनेर नापजाँच गरेका थिए ।
उनी अब धरौटी बुझाए मात्र छुट्नेछन् ।
त्यस्तै केशव तुलाधरलाई भने अदालतले साधार तारेखमा रिहा गर्न आदेश दिएको थियो । उनी पनि रिहा भइसकेका छन् । जिल्ला अदालत काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै तुलाधर असार ३१ गते पक्राउ परेका हुन् ।
उनको नाममा ललिता निवासको दुई रोपनी सरकारी जग्गा गएको देखिएको थियो । प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असुली गरेको आरोपमा तुलाधरलाई असार २८ मा पक्राउ गरेको थियो ।
अदालतले सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको थियो । गुरुङ पनि अदालतले तोकेको धरौटी बुझाएर रिहा भइसकेका छन् ।
यो पनि पढ्नुहोस
ललिता निवास प्रकरणमा कसलाई कति धरौटी?













