
काठमाडौं— नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले यौनहिंसा गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले तीन महिना लगाएर गरेको अनुसन्धानले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकालेको हो ।
डीआईजी मैनाली नेतृत्वको समितिले एसएसपी पालमाथिको छानबिन टुंग्याउँदै प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालयको कानुन शाखामा छ। कानुन शाखाले प्रतिवेदन अध्ययन गरिसकेपछि मात्र एसएसपी पालमाथिको कारबाही प्रक्रिया अघि बढ्ने छ ।
छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको, महिला सहकर्मीलाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकर्मी महिला प्रहरीमाथि कार्यकक्ष मै यौनहिंसा गरेको पुष्टि भएपछि बर्खास्तसम्मको प्रस्ताव गर्दै प्रतिवेदन पेस गरिएको समिति स्रोतले जानकारी दियो ।
छानबिनको क्रममा विभिन्न व्यक्ति तथा पीडितसँग सोधपुछ गर्दा यौन हिंसा गरेको पुष्टि भएको समितिले औंल्याएको छ ।महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेका थिए ।
घटना विवरण
जेठ १९ गते शुक्रबार । एक महिला प्रहरीले घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन् । बिदा स्वीकृतसमेत भइसकेको थियो । यसबारे कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइयो ।
त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला प्रहरीलाई आफूलाई भेट्न पठाइदिनू भन्दै आदेश दिन्छन् । प्रमुखको आदेशपछि पीडित महिला एसएसपी पालको क्वार्टरमा पुग्छिन् । क्वार्टरमा एसएसपीले महिला प्रहरीलाई भनेका थिए, ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं।’
एसएसपी पालको प्रस्तावलाई प्रतिवाद गर्दै पीडितले घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराउँछिन् । पछि पीडितले प्रदेश प्रहरी कार्यालयमा उजुरी गर्छिन् । त्यसपछि घटना बाहिर आएको हो । त्यसपछि प्रहरी प्रधान कार्यालयले डीआईजी मैनालीको नेतृत्वमा समिति गठन गरे छानबिन प्रक्रिया अघि बढाएको हो ।
एसएसपी पाल निलम्बनमा छन् ।