केआइसिंह राजमार्गमा पहिरोको ढुंगा लागेर एकको मृत्यु

डडेल्धुरा— केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुंगा लाग्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प ८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिबार माथिबाट खसेको ढुंगा लागेका थियो ।
टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आइतबार बिहान बाटोमै मृत्यु भएको जनाइएको छ ।
मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० १४:०७