News Griha :: न्यूजगृह
कोरोना संक्रमित बढेपछि दार्चुलाको सीमामा कडाइ

दार्चुला— दार्चुलामा २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ ।  भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

सीमानाका पुलघाटमा भारतबाट फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । सूचना अधिकारी कार्कीका अनुसार कोरोना पुष्टि भएका उनलाई होम आइसोलेसनमा बस्नेगरी मंगलबार घर पठाइएको छ ।

भारतमा कोरोना संक्रमण बढ्न थालेको छ । भारतमा मजदुरी गरी घर फर्किनेहरूमा कोरोना संक्रमण देखिन थालेको उनले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमामा कडाइ गरीएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

नयाँ वर्ष विशु पर्व नजिक आउँदै गरेकाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली पर्व मनाउन घर फर्किने क्रम बढ्दो छ । यसलाई ध्यानमा राख्दै कोरोना परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २२:०६
Weather Update