प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भयाे : मन्त्री श्रेष्ठ

चितवन— बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले संविधानले प्रदेशलाई सुरक्षा गर्ने अधिकार दिएको भए पनि प्रहरी समायोजन हुन नसकेको बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भएको बताएका हुन् ।
गठबन्धन सरकार बन्दै गर्दा ६ महिनाभित्र प्रहरी समायोजन गर्ने कार्ययोजनामा उल्लेख भएको उल्लेख गर्दै उनले यसै महिनाभित्रमा समायोजन हुनेमा आफू विश्वस्त रहेको बताए ।
नेपाल प्रहरीका कार्यगत गुनासा धेरै आएको भन्दै उनले आफ्नो कार्यशैली सुधार्न निर्देशन दिए । उनले भने,‘आफ्नो कार्यशैली सुधार्नुहोस्, प्रहरीमा सेवा लिन आउने सेवाग्राहीले सन्तोषपूर्ण वातावरणमा फर्किने वातावरण सिर्जना हुन जरुरी छ ।’
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० २१:०९