News Griha :: न्यूजगृह
दार्चुलाको तिङ्करमा एपीएफको बीओपी स्थापना

दार्चुला— चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

व्यास गाउँपालिका–१ तिङ्करमा स्थापना गरिएको उक्त पोष्टको शुक्रबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गरे ।

पोष्ट स्थापनाका लागि एआईजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हुँदै तिङ्कर पुगेको थियो ।

तिङ्करको छयालेकमा स्थापना गरिएको उक्त पोष्टमा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २० जनाको टोली सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए ।

विशेषगरी चीन सीमा नजिक उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण, लागूऔषध ओसारपसारलगायत गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रको निगरानीका लागि पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक विष्टले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १७:०५
Weather Update