News Griha :: न्यूजगृह
सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण, लुटियो हतियार र गोली
प्रतिनिधिमूलक तस्बिर ।

काठमाडौं—  सूचना सङ्कलनका लागि खटिएका सादा पोसाकका प्रहरीमाथि सुनसरीको बर्जू गाउँपालिका– १ मा गएराति आक्रमण भएको छ । साथै प्रहरीको साथमा भएको हतियार र गोलीसमेत लुटपाट भएको छ। 

घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।  उक्त स्थानमा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ। त्यस सम्बन्धित सूचना संकलन गर्न र घटना नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो। 

परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको सङ्ख्यामा रहेको समूहले आक्रमण गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। 

उनका अनुसार आक्रमण गरेर प्रहरीलाई घाइते बनाएपछि हतियार र गोली लुटेर उक्त समूह फरार बनेको हो। आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको एसपी रेग्मीले बताए। आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउन्ड गोली लुटेको जानकारी उनले दिए। प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउन्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको छ। पेस्तोल भने फेला परेको छैन। 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:१९
Weather Update