
खोटाङ— साकेला गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ ।
गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाइ पूर्णरुपमा ‘सरसफाइमैत्री पालिका’ बनाउन डस्टबिन राख्न सुरु गरेको हो ।
जिल्लाको सबैभन्दा सानो (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले मानेभञ्ज्याङदेखि नौलाखर्कसम्मको बजार, पार्क तथा सडकमा फालिएका फोहोरमैला हटाउनुका साथै आवश्यकपर्ने र बढी जनघनत्व हुने ठाउँमा डस्टबिन राखेको छ ।
गाउँपालिकाको समृद्धिका लागि हरेक दिन विविध गतिविधि गर्दै आएको पालिकाले सार्वजनिक बिदाका दिनमा समेत फोहोरमैला व्यवस्थापन र सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ ।
गाउँपालिकाले सुरु गरेको अभियानमा गाउँपालिकाअन्तर्गतका सबै कर्मचारी औपचारिक पोशाक लगाएरै उत्साहका साथ सहभागी हुने गरेका छन् ।
गाउँपालिकाले सबै वडाअन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कमा फोहोरमैला व्यवस्थापनका लागि डस्टबिन राख्ने गरेको छ ।
विभिन्न ठाउँमा राखिएका डस्टबिनमा संकलन गरिएका फोहोरलाई गाउँपालिकाले डम्पिङसाइटमा लगेर व्यवस्थापन गर्ने जनाइएको छ ।
फोहोरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका–३ खिदिमामा जग्गाकोसमेत व्यवस्थापन भइसकेको र डम्पिङसाइट निर्माण गर्ने तयारी भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताएका छन् ।