
सिन्धुपाल्चोक— हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ ।
मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गरेका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौं ल्याउने तयारी छ ।
सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने उनको भनाइ छ ।
याङ्री र लार्केको पानी काठमाडौं लैजानका लागि निर्माण हुने टनेलको डिजाइन गर्दा पानीसँगै यातायात आवतजावतका लागिसमेत सहज हुने गरी बनाउन उनले आग्रह गरेका हुन् ।
अध्यक्ष शेर्पाले यातायातसहितको टनेल निर्माण गरिएमा हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताए । दुई वटै पालिकाको छोटो दूरी र वैकल्पिकमार्गका रूपमा सो मार्ग प्रयोग गर्न सकिने उनको भनाइ छ ।