News Griha :: न्यूजगृह
बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते, स्थानीय त्रसित
प्रतिनिधिमूलक तस्बिर

बैतडी— चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।

बिहीबार मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर घाइते भएकी पूजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली ल्याइएको थियो ।

मेलौलीमा उपचार हुन नसक्दा अपराह्न थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

पूजाको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेको छ । सिटिस्क्यान गर्नुपर्ने देखिएको डडेल्धुरा रेफर गरिएको पूजाको उपचारमा संलग्न मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका डा.सञ्जीन केसीले बताए । घाइते पूजाको अवस्था खतरामुक्त रहेको छ ।

उनले भने, ‘बेहोसमा रहेकी पूजा होसमा आएकी छिन् तर सिटिस्क्यान गर्नुपर्ने देखियो । हामी कहाँ उक्त सुविधा नभएकाले डडेल्धुरा रेफर गरेका छौँ ।’

गाउँका ४/५ जनाको समूहमा घाँस काटिरहेकी पूजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर–३ का वडा अध्यक्ष मीनबहादुर चन्दले बताए ।आक्रमणपछि चितुवाले पुजालाई तीन सय मिटर टाढासम्म घिसारेर लगेको र पछि स्थानीयवासीले होहल्ला गरेपछि छाडेको थियो ।

चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन् । तल्लोस्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २२:०६
Weather Update