नक्कली नेपाली नोटसहित एक पक्राउ

काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार काठमाडौं महानगरपालिका–१५ स्वयम्भु क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले एक लाख (एक हजार दरका एक सय थान) नक्कली नेपाली नोटसहित थापालाई पक्राउ गरिएको हो ।
थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० २१:३०