News Griha :: न्यूजगृह
पृतनापति समन्वयात्मक बैठक सुरु, रक्षामन्त्री र प्रधानसेनापतिले के भने ?

काठमाडौं— उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवम् गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तरक्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताएका छन् ।

सैनिक मुख्यालय जंगीअड्डामा सुरु भएको दुई दिने पृतना समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षाको अवस्था र चुनौतीलाई सम्बोधन गर्नका लागि उपाय पहिल्याउन यस्ता कार्यक्रमले मद्दत पुग्ने बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवम् राष्ट्रिय एकताको संरक्षण तथा संवर्द्धन गर्ने गहन जिम्मेवारीलाई सेनाले अन्य निकायसँगको सहकार्यमा प्रभावकारी र प्रशंसनीय ढङ्गले गर्दै आइरहेको छ’, खड्काले भने ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सदैव सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए ।

उनले भने,‘जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारीलगायत आर्थिक, सामाजिक, कुटनीतिक, वातावरणीय, खाद्य, ऊर्जा, साइबर सुरक्षा एवम् अन्य मानव सिर्जित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी सेना सदैव तयारी अवस्थामा छ ।’

कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखको सहभागिता थियो । बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा एवम् सुझाव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:३८
Weather Update