News Griha :: न्यूजगृह
वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट

काठमाडौं— काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निमोनियाका कारण निधन भएको चिकित्सकले बताएका छन्।

धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको बिहीबार बिहान ७ः३० बजे निधन भएको थियो । वडाध्यक्ष रिजाललाई उपचारका लागि भदौ १७ गते सोही अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरलनिमोनिया) का कारण निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले बताए ।

सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।
 नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका– १६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिए । त्यसअघि रिजालको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय सभागृहमा राखिने छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १०:४३
Weather Update