
बाग्लुङ— भदौ शुक्ल (उजेली) पक्ष पारेर बाग्लुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मंगलबार बिदाइ गरे ।
झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भने,‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो ।’
प्रकृति पूजक मगरहरूले यो पर्वलाई धुमधामसँग मनाउने गरेको उनले बताए । अरु जातजातिमाभन्दा अनौठो गरी कूल पुज्ने परम्परा रहेकाले पनि भदौरे सिस्नो खोस्ने पर्वले धरैको ध्यान खिच्ने गरेको तारागाउँका अगुवा घर्तीको अनुभव छ ।
भदौ त्यसमाथि बार पनि एउटै पारेर भदौरे पर्व मनाउने गरिन्छ । सचिव घर्तीका अनुसार शनिबारदेखि सुरु हुने पर्वलाई मंगलबार अन्त्य गर्ने चलन छ ।