
चितवन— पुर्खादेखि खोला र वनको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनको विकल्पको खोजीमा जुटेका हुन् ।
खोलानाला र वनजंगलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन् । वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे (घरबास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन् ।
उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे (घरबास) र चार सामुदायिक माछापोखरी बनाएका छन् । अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताए ।
उनले भने,‘अहिले पहिलाको जस्तो वनजंङल र खोलामा आश्रित हुनुपरेको छैन ।’ कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताए । होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर ६०–७० हजार कमाइ हुँदै आएको उनले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो । तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटेले बताइन् ।