News Griha :: न्यूजगृह
सरुवाको विषयमा वडा अध्यक्षले कुटे शिक्षक

गुल्मी— गुल्मीमा वडा अध्यक्षले शिक्षक कुटेका छन् । मालिका गाउँपालिका–७ घमिरका वडा अध्यक्ष हिराबहादुर कार्कीले देवीस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक यमलाल पन्थीलाई सोमबार कुटपिट गरेका हुन् ।

शिक्षकको आँखा र काननजिकै चोट लागेको छ । शिक्षकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइको छ । पन्थीकी श्रीमती जानकी पाण्डेको सरुवाको विषयलाई लिएर दुवै जनाबीच विवाद भएको थियो ।

जानकी प्राथमिक तहकी स्थायी शिक्षक हुन् । उनी सोही वडाकै मैदानचौर प्राथमिक विद्यालयमा कार्यरत रहेकामा बरारूख प्राथमिक विद्यालमा सरुवा गरिएको थियो ।

सोहीक्रममा वडा अध्यक्षलाई शिक्षकले श्रीमतीको सरुवा गरी घरपायक मिलाउन आग्रह गर्दा दुवै जनाबीच विवादको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले दुवैजना जिम्मेवार र सार्वजनिक पद धारणा गरेका व्यक्तिहरू भएकाले घटना विद्यालयमै मिलाउन पहल भए पनि पीडित पक्षले उजुरी दिने तयारी गरेको खबर राजधानी दैनिकमा छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०७:३३
Weather Update