
काठमाडौं— भुटानको पहिलो निजी एअरलाइन्स ‘भुटान एअरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौं गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।
उक्त एअरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको ४ दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ ।
कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौंका उडान पुनः सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ ।
थिम्पुमा मुख्यालय रहेको भुटान एअरलाइन्सको उडानले पारो–काठमाडौं–नयाँ दिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् ।
‘निर्धारित उडान पुनः सुचारु गनेसँगै भुटान एअरलाइन्सले कोभिड महामारीका कारण रोकिएको काठमाडौंका उडान पुनः सुचारु हुनेछ, यसमा हामी उत्साहित छौँ, महामारीको समयमा उडान रद्द वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्ने चुनौतीको सामना गर्नुपर्यो’,भुटान एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकको भनाइ छ ।
नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।
एअरलाइन्सले आगामी दिनमा नियमित उडान गरी विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ ।