
बाग्लुङ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् ।
नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने बताए ।
‘कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ’, महामन्त्री थापाले भने,‘जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफैं मजबुत बन्दै जान्छ, तपाईंहरूले काम गर्नुभएन भने समस्या हुने हो ।’
महामन्त्री थापाले अहिले तीन वटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताए ।