घुस लिएको अभियोगमा लेखापालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो । आयोगको टोलीले यादवसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो ।
सो घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ । तीनै जनालाई रु पाँच लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १६:५१