News Griha :: न्यूजगृह
६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले लियो बयान

काठमाडौं— ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको बयान लिएको छ ।

महाराजगञ्जस्थित ब्युरो कार्यालयमा पुगेर सोमबार दिउँसो दिपेशले तीन घण्टा बढी बयान दिएको प्रहरी उच्च स्रोतले बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनको  दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि उनकोे बयान लिइएको स्रोतको दाबी छ ।   

गत साउन ३ मा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यो प्रकरणको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको हो। त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् । 

यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ । उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् । ६० किलो सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल हिरासतमा छन् ।   

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:४८
Weather Update