
काठमाडौं— सुनका गहना चोरी गरेको आरोपमा लमजुङ प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेँसीसहर नगरपालिका— ७ की २७ वर्षीय सुजा घिमिरे छिन् । प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद लिई घिमिरेमाथि अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार उनीमाथि चोरी गरेको दुई वटा आरोप छन् ।
यस्तो छ घटना
गत वैशाख २५ गते बेँसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जमुना रिमालको घरबाट सुनका गरगहना चोरी भएको थियो । जमुना र सुजा साथीहरू हुन् । घरबाट ठूलो परिमाणमा चोरी भए पनि जमुनाले प्रहरीलाई खबर गरेकी थिइनन् । चोरी भइसकेको सामान फिर्ता पाउने सम्भावना न्यून रहेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिएनन् ।
तर साउन ३० गते बेँसीसहर नगरपालिका वडा नम्बर ७ स्थित बालकुमारी घिमिरेको घरबाट पनि गरगहना चोरी भएको थियो। उक्त चोरीबारे भने हल्लाखल्ला भयो। प्रहरीका अनुसार पक्राउ परेकी घिमिरे एक गैरसरकारी संस्थामा काम गर्थिन् । उक्त संस्थाको कार्यालय जमुनाको घरमा थियो ।
सुजाले आफ्नो पनि सुन चोरी भएको भन्दै जमुनासँग कुराकानी गरेकी थिइन् । ‘अर्को चोरी पनि भएपछि पक्राउ परेकी युवतीले जमुनासँग आफ्नो पनि गहना हराएको भनेकी रहेछन्,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘यसरी उनीहरू दुवैले प्रहरीमा जानुपर्छ भनेर भदौ १ गतेतिर चोरी भएको भनेर निवेदन दिए ।’
निवेदन दिएयता प्रहरीले गहना चोरीका घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान अघि बढाएको थियो । ‘दुवै चोरीका घटनामा सबै सजिलोसँगै चोरी भएकोजस्तो देखियो । कतै पनि तोडफोड गरेको देखिएन । त्यसो भएपछि हामीले गहना चोरी भएको घटनाको कनेक्सन निकालेर अनुसन्धान गर्दै थियौं,’ उनले भने । जमुना र बालकुमारीको घरबाट करिब २३ तोला सुन बराबरको गहना चोरी भएको थियो । अनुसन्धानको क्रममा प्रहरीले दुई वटा घटनाको कनेक्सन सुजासँग भएको पत्ता लगायो ।
बालकुमारकी छोरी सुजाकी साथी हुन् । जो अमेरिकामा बस्थिन् । घर परिवारसँग राम्रो चिनजान भएकाले उनी उक्त घरमा आउजाउ गर्थिन् ।
साउन ३० गते चोरी भएको दिनमा सुजाले बालकुमारीलाई सम्पर्क गरेको भेटिएपछि प्रहरीलाई उनीमाथि शंका लागेको थियो । प्रहरीले सोधपुछ गर्दा गमलामा लगाउन मल लिन पुगेको हुँदा फोन गरेको प्रहरीलाई बताएकी थिइन् । तर प्रहरीले उनले नेपाल बैंक लिमिटेडबाट ऋण समेत लिएको खुल्यो । उनले चोरी गरिएको सुन धितोमा राखेर ऋण लिएको थाहा भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
‘गोल्ड लोन भनेर लिएको पायौँ । चोरी भएको करिब ३ तोला सुन धितो राखेर एक लाख ८० हजार जति लोन लिएपछि पक्राउ गरेका हौं,’ उनले भने । बैंकले पनि कुनै बिलबिना नै उक्त सुन धितोमा राखेको पाइएको छ । यसरी बिलबिना नै सुन धितो राख्ने भएपछि अन्य चोरी गरिएका सामानहरू पनि त्यसैगरी दुरुपयोग हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । यसरी बैंकमा राखेको भेटिएपछि प्रहरीले उनको कोठामा पनि तलासी लिएको थियो। जहाँबाट बाँकी चोरिएका गहना बरामद भएको थियो ।