News Griha :: न्यूजगृह
समयमै उपचार नपाएपछि कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं— कान्ति बाल अस्पतालको लापरबाहीका कारण ६ वर्षीय बालकको मृत्यु भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् ।

मकवानपुरको थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् । अस्पतालमा ५ बजे बेलुका इमर्जेन्सीमा लगिएको बालकलाई २ घन्टा बाहिर राख्दा मृत्यु भएको पीडित परिवारको भनाइ छ । बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र वान्ता भएका बालकलाई अस्पतालले बेवास्ता गरेकै कारण मृत्यु भएको बताए ।

उनले भने, ‘बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो । गम्भीर अवस्थामा ल्याइएको बालकको अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीररूपमा लिनुपर्छ । यहाँको प्रशासनलाई कारवाही हुनुपर्छ ।’

अस्पतालका नवनियुक्त निर्देशक तथा डा. पङ्कज रायले बालकको मृत्यु पालो कुर्दै गर्दा भएको बताएका छन् । उनले भने, ‘अस्पतालको इमर्जेन्सीमा धेरै भीड हुने गरेको छ । यहाँ आएकाहरूलाई अन्त जाउ भन्ने गरेको छैन । ती बालक पालो कुरिरहेका थिए । यसमा उपचारमा  हेलचेक्र्याइँ भयो भन्ने कुरा सरासर गलत हो । बिरामी यहाँ छिरेपछि सबै सेवा सुविधा पाएको छ ।’   

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:५३
Weather Update