News Griha :: न्यूजगृह
बाँकेमा विद्युत् हुकिङ गरेर चोरी

नेपालगन्ज— बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

जिल्लाका नेपालगन्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत्को हुकिङ गरेर विद्युत् चोरी भएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उनले छड्के निरीक्षणका क्रममा विद्युत् चोरी भएको पाइएको बताए ।

अवैध रुपमा विद्युत् चोरी गरेकाहरूबाट दुई लाख ९३ हजार पाँच सय ४६ राजस्वसमेत संकलन भएको वितरण केन्द्रले जानकारी दिएको छ ।

वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत् चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए ।

उनले तरकारीको पकेट क्षेत्रमा विद्युत्का लागि मिटरको माग बढी रहेको र सबै वडामा विद्युत् विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:२९
Weather Update