News Griha :: न्यूजगृह
जबर्जस्ती करणीको आरोपमा तथ्यांक कार्यालय चितवनका प्रमुख पक्राउ

चितवन— जबर्जस्ती करणीको आरोपमा तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । ३ वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत चितवनमा सोमबार मिति थप गरी अनुसन्धान अघि बढाइएको छ । गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र ४ महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो ।

ती महिलाको अहिले भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । स्थानीय क्लिनिकमा गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको हो ।

अस्पतालमा क्लिनिककै चिकित्सकले पुर्‍याएपछि आफन्त नआउँदा सोधखोज गर्ने क्रममा घटनाको वास्तविकता बाहिर आएको हो । नवलपरासीको सुनवल नगरपालिका–१२ निवासी ४४ वर्षीय भण्डारी अधिकृत स्तरका कर्मचारी हुन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:४२
Weather Update