News Griha :: न्यूजगृह
१५ दिन पनि टिकेन कालोपत्रे 

कैलाली— कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्रे सडक १५ दिन नपुग्दै भत्किन थालेको छ ।

पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले कालोपत्रे गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्रे उप्किन थालेकोे स्थानीय नन्दसिंह विकले बताए ।

‘कम्पनीले काम सुरु गरेदेखि नै काममा लापरवाही गर्दै आएको थियो । यसको निरन्तरता सडक कालोपत्रमा पनि देखियो’,उनी भन्छन्,‘निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सहजै अनुमान गर्न सकिने स्थिति रह्यो । काम गुणस्तरहीन भएको छ भन्ने ।’

स्थानीय हरि चौधरीका अनुसार यस्तै अवस्थामा सडकको काम भयो भने छ महिनामै कालोपत्रे सडक ग्राभेल सडकमा परिणत हुन समय नलाग्ने बताए ।

उनले निर्माणकै क्रममा टाला हाल्न थालेको सडक दीर्घकालीन नहुने बताए । ‘अगाडि काम भएर जाने पछाडि त्यहीँ सडक भत्किएको जनाउँदै टाला हाल्दै जाने हो भने सडक गुणस्तरहीन छ भन्ने सामान्य नागरिकले पनि अनुमान गर्न सक्ने स्थिति छ’, उनी भन्छन्,‘सकिन्छ भने सम्बन्धित निकायले समयमै अनुगमन गरी सडक पुनः कालोपत्रेका लागि निर्माण कम्पनीलाई निर्देशन दिनुपर्छ ।’

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीको प्राविधिक टोलीले सडक निर्माणको विरोध भएपछि सडकको अनुगमन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०८:२६
Weather Update