News Griha :: न्यूजगृह
चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो

म्याग्दी— म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बाग्लुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ ।

अब बाग्लुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय बाग्लुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि बी, सी, ई, एफ र जी वर्ग (चारपाङ्ग्रे) सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए ।

बाग्लुङमा हाल ए र के वर्ग (दुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बाग्लुङमा हुन सकेको थिएन ।

‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौं’, उनले भने,‘प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राईभीङ सेन्टरसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुरु गर्ने तयारीमा छौँ ।’ 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०६:४६
Weather Update