News Griha :: न्यूजगृह
भारतको धौलीगंगा बाँध चौथोपटक खोलिँदै, सतर्कता अपनाउन आग्रह

बैतडी— भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध सोमबार बिहान ८ बजेदेखि मंगलबार बेलुकी ८ बजेसम्म खोलिने जनाएको छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:५१
Weather Update