News Griha :: न्यूजगृह
‘प्रहरीले सामान्य मानवीय संवेदनशीलतासमेत ख्याल गरेन’

काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा शनिबार साँझ अशिष्ट स्ट्याटस लेखेर विवादमा परेका काठमाडौं महानगरपालिका मेयर बालेन साहले आफ्नी श्रीमती सविना काफ्लेले सरकारी सवारीसाधन प्रयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

मेयर साहका स्वकीय सचिव भूपदेव साहले आइतबार विज्ञप्ति जारी गर्दै शनिबार बेलुका सुत्केरी अवस्थामा रहेकी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको उल्लखे गरेका छन् ।

बालेनको सचिवालयले सुरक्षाका दृष्टिकोणले समेत मेयर साह र उनकी धर्मपत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सविना काफ्ले अस्पताल गएको बताएको छ ।

साथै सविनाले आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरूले  सवारी चेकजाँच गरेको र त्यसक्रममा प्रहरीले गरेको व्यवहारप्रति असभ्य व्यवहार गरेको पनि सचिवालयको दाबी छ ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नगर प्रमुखसहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक रहेको पनि मेयर साहको सचिवालयले जनाएको छ । 

हेर्नुस् विज्ञप्ति

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:१३
Weather Update