
काभ्रे— काभ्रेको पनौती नगरपालिका– ३ कुशादेवीस्थित खाद्यान्न तथा बिउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बिउ उत्पादन थालेको छ ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बिउ उत्पादन थालिएको हो । उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बिउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ,’ उद्योगका सञ्चालक शशि अधिकारीले भने । उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बिउ बन्दछन् ।
एक बिरुवामा ५० देखि चार सयसम्म बिउ उत्पादन हुने अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त प्रकृतिको बिउ उत्पादन गर्न उद्योगमा एक करोड रुपैयाँमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकिन गर्न नसकिएको उनको भनाइ थियो । ‘यसरी उत्पादन गरिएको बिउ लाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा करिब पाँच पटक (पाँचपुस्ता)सम्म रोपेर मात्रै कृषकलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ,’ अधिकारीले भने । उनका अनुसार गत साउनदेखि उक्त नौलो प्रविधिबाट आलुको बिउ उत्पादन प्रक्रिया थालिएको हो ।
यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार उद्योगका प्राविधिकले नयाँका साथै पुरानै जातका आलुको नयाँ प्रविधिबाट बिउ उत्पादन गर्न थालेका छन् । उक्त उद्योगमा आलुको बिउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बिउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिए । उनका अनुसार उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ लाख ५४ हजार रुपैयाँ विनियोजनसमेत गरिएको थियो ।