News Griha :: न्यूजगृह
पर्साको ठोरी क्षेत्रमा आतंक मच्चाउने पाटेबाघ नियन्त्रणमा

वीरगन्ज— पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतंक मच्चाउँदै आएको पाटेबाघलाई शनिबार पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।

निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ नियन्त्रणमा लिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए ।

निकुञ्जबाट निस्केको सो पाटेबाघको आक्रमणबाट गत भदौ १३ गते स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो ।

सोही दिन मृतक दोङको एक गोरुलाई मारेको थियो । बाघ नियन्त्रणमा लिनका लागि भदौ १४ गतेदेखि नै प्रयास थालिएकामा शनिबार डार्ट गरिएको अध्यक्ष पाख्रिनले बताए ।

बाघ नियन्त्रणका लागि निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवम् हात्ती प्रयोग गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:५१
Weather Update