News Griha :: न्यूजगृह
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान सुरु

काठमाडौं— नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आज (शनिबार) देखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ ।

मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ ।

गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०६:५७
Weather Update