
काठमाडौं— सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले २०८४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार अपराह्न १ बजे चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम छ । मुलुकमा राजनीतिक परिवर्तन र रूपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्ने लगायत गुनासाको प्रभावकारी समाधान खोजिने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । ‘अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ,’ उनले भने ।
पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम तथा सेवा प्रवाहमा जनअपेक्षाअनुसार काम गर्दै आएको पार्टीले जनाएको छ । सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको सो पार्टीको दाबी छ ।
अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जनवर्गीय सङ्गठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ । माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।
अभियान तीन चरणमा सञ्चालन हुने छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।
दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण,जनभेला, टोलटोलमा युवाभेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिने छ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोल सभा गरिने प्रवक्ता सापकोटाले बताए ।
माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डसहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तीमा एक/एक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आफूले सातै प्रदेशका एक/एक गरी सात वडाको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।माओवादीले अभियान सञ्चालनका लागि सबै पदाधिकारीको कार्यविभाजन गरी प्रदेश संयोजक तोकेको छ । कोशीमा चक्रपाणि खनाल, मधेशमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव, सुदूरपश्चिममा डिलाराम आचार्य, सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल, उपत्यका विशेषमा वर्षमान पुन र प्रवास प्रदेशमा राम कार्कीलाई संयोजक तोकिएको छ ।
अभियानलाई प्रभावकारी बनाउन आजसम्म प्रदेश, जिल्ला, पालिका, वडा बैठकबाट कार्ययोजना निर्माण गरिएको माओवादीले जनाएको छ । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।