माओवादी केन्द्रले २५ लाख मतदाता भेट्ने

काठमाडौं— नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत २५ लाख मतदाता भेट्ने बताएको छ ।
गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुरुप जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबार देशभरका सबै वडामा एकैसाथ सुरु हुँदैछ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले देशभरका सबै वडामा पुगेर २५ लाख मतदाता भेट्ने जनाएका हुन् ।
‘माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराइनेछ,’ उनले भने ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १७:५८