
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक बिन्दु पहाडी अस्वस्थ भएकी छन् ।
हर्निया रोगबाट पीडित उनी अस्पताल भर्ना भएकी छिन् । हर्नियाको अप्रेसन गर्न पहाडी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा आइतबार भर्ना भएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
सांसद पहाडीले जनतामाझ सरकारी अस्पतालको स्वास्थ्य सेवाप्रति विश्वसनीयता बढाउन गण्डकी अस्पताल रोजेको बताइन् ।
‘नेताहरू प्रायः आफू बिरामी हुँदा प्राईभेटमा कि त विदेशमा उपचार गराउन चाहन्छन् । तर जनताको पहुँचमा भएको अस्पताललाई हामी नेताले नै विश्वास गर्न सकेनौँ र विश्वास गर्न गर्न लायक बनाउन सकेनौँ भने जनताले कसरी विश्वास गर्ने ? कहाँ उपचार गर्ने ?’, उनले भनिन्, ‘गण्डकी अस्पतालप्रति मेरो पूर्ण विश्वास छ । मेरो उपचारपछि अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउन मेरो पहल हुनेछ ।’
अस्पतालका चिकित्सक डा.नरेन्द्र गुरुङ नेतृत्वको टोलीले पहाडीको उपचार गर्नेछ ।