
चितवन— भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ ।
महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो ।
महानगरको वडा नम्बर १,४,५,६,१३,१४,१५,२४,२५,२६,२७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लियपना उच्च देखिएको कार्यालयका अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार पाँच सय ४६ नमुना परीक्षणका क्रममा यहाँको मोटोमा अम्लियपना भेटिएको हो । महानगरको खेतीयोग्य जमिनमा अम्लियपना देखिएसँगै कृषि चुनको प्रयोगका लागि किसानलाई अनुरोध गरिएको उनले बताइन् ।
उनले भनिन्,‘कृषि चुन प्रयोग गर्ने किसानका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेका छौ ।’ उनका अनुसार माटोमा भएका अम्लियपना ६ दशमलब ५ प्रतिशतबाट तल झर्दै आएमा अम्लियपना बढी भएको मानिन्छ । महानगरको माटोमा ५ र ५ दशमलब ५ प्रतिशत रहेको उनले बतान् ।
अम्लियपन देखिएको माटोमा बिरुवाको वृद्धि विकास कम हुने,उत्पादन घट्ने,बिरुवाले सजिलै खाध्यत्व पाउन नसक्ने हुँदा कृषि क्षेत्रमा समस्या आउने उनले बताइन् । उनले भनिन्,‘अम्लियपना भएको माटोमा जति मल हाले पनि काम गर्दैन ।’
रासायनिक मल र विषादीको बढी मात्रामा प्रयोगका कारण उत्पादन घट्ने र माटोमा क्याल्सियम,चुन र म्याग्नेसीयम कम हुँदा माटोमा अम्लियपन बढ्ने गर्दछ । भरतपुर महानगरपालिका ४३ हजार २५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमा १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषि योग्य रहेको छ ।
यहाँ विभन्न प्रकारका कृषि कर्म हुँदै आएका छन् । यसमा महानगरले विभिन्न कृषि पकेट क्षेत्र समेत बनाएर काम गर्दै आएको छ ।