
काठमाडौं— प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको ‘सेफर भ्याली कन्सेप्ट’ को परिकल्पना र त्यसभित्रको सुरक्षा व्यवस्थापनका लागि सहकार्य आवश्यक भएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको ३१औं नगर प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै आईजीपी कुँवरले नगर प्रहरीले महानगरको भौतिक पूर्वाधार क्षेत्रमा देखिने गरी काम गरेको समेत बताए ।
उनले नेपाल प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको ‘सेफर भ्याली’ को कन्सेप्ट दुबैको हितमा हुने भन्दै त्यसलाई मिलेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीय र संघीय सरकारको बीचमा तादम्यता र समन्वयन हुनुपर्नेमा जोड दिए ।
उनले भने,‘कताकता समन्वयको कमी भएको हो की भन्ने मलाई लाग्छ । तर, संघीय सरकार र स्थानीय सरकारबीचको अलि माथिल्लो तहको समन्वय गरेर हामी जान सक्यौं भने महानगरपालिकालाई कायापलट गर्न सक्छौं ।’