
काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् ।
बिहीबार महानगर प्रहरीको ३१औं नगर प्रहरी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले सो कुरा बताएका हुन् ।
काठमाडौं नगर प्रहरीले कसैको प्रभावमा नपरी काम गरेको दाबी गर्दै साहले सोही अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयले काम गर्न सके सुशासन कायम हुने बताए ।
उनले भने, ‘हाम्रो नगर प्रहरी बल अहिले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक दलको प्रभावबिना काम गरिरहेको छ । नेपाल प्रहरीको महानिरीक्षकज्यू पनि यहीँ हुनुहुन्छ, सशस्त्र प्रहरीका महानिरीक्षकज्यू पनि हुनुहुन्छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीले पनि यसरी नै कुनै राजनीतिक दबाबमा नआईकन काम गरिदिनुभयो भने सुशासन ल्याउन सफल हुन्छौं ।’
महानगरले प्रहरी दिवसको अवसरमा नगर प्रहरी बलबाट नगरमा सुशासन कायम गर्न सहयोग पुर्याउने तथा उत्कृष्ट काम गर्ने नगर प्रहरीलाई सम्मान गरेको छ ।