
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ ।
भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री दाहाललाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थीको समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
सो फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको संयोजकत्वमा गएको समूहले भुटान फर्किन चाहने, नेपालमा बस्न चाहने वा तेस्रो देशमा पुनर्वासमा जान चाहने शरणार्थीको मानवअधिकारको रक्षा गरी उनीहरुको चाहनाबमोजिमको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गरेको हो ।
सो ज्ञापनपत्रमा भनिएको छ, ‘भाषा रहे संस्कृति रहन्छ, संस्कृति रहे पहिचान रहन्छ र पहिचान रहे जातिको परिचय रहन्छ भन्ने मान्यता बोक्ने पितृभूमि नेपाल भएका र नेपालको सरकारसँग सम्झौता गरी भुटानमा गई बसोबास गर्दै आएका पितृभूमि नेपाल भएका नेपाली भाषी समुदायलाई नेपाली भाषा, संस्कार र संस्कृति अङ्गालेकै कारण भुटान सरकारले निर्मम दमन र सर्वस्वहरण गरी भुटानबाट लखेटेको र अझै नेपालमा आठ हजार शरणार्थी रोग र अभावबाट ग्रसित भई जेलसरहको कठोर जीवन बिताइरहेका छन् ।’
अमानवीय तरिकाले ट्रकमा मेची नदीको पुलमा ल्याएर छोडिएका विस्थापित झण्डै ३४ वर्षदेखि शरणार्थीका रुपमा नेपाल सरकारलगायत कुनै पनि दातृ निकायको उचित र आवश्यक सहयोगबिना नै जीवन मरणको दोसाँधमा रहेकाले उनीहरुको उचित व्यवस्थापनको माग सो ज्ञापनपत्रमा गरिएको छ ।
यसरी लाखौँ शरणार्थीमध्ये अधिकांश तेस्रो देशमा पुनर्वास भएका र प्राविधिक कारणले यसरी जान नसकेका र नचाहेका एवं जबर्जस्ती आफ्नै पितृथलोमा अनागरिक बन्न बाध्य बनाइएकाको समस्या झन बढ्दै गएकाले उनीहरुको यो अवस्थाप्रति छिट्टै ध्यान दिन सो ज्ञापनपत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो ।